धनगढी- सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले विभिन्न देशका पर्यटक अछाम पुगेकोबारे प्रदेश मन्त्रालयलाई जानकारी नरहेको बताएका छन् ।
‘अछामको रामारोशनका लागि पर्यटक आएको विषयमा अहिलेसम्म हामीलाई आधिकारिक जानकारी छैन,’ मन्त्री धामीले भने ।
जानकारी नै नआएकाले पर्यटकका बारेमा केही पनि थाहा नभएको उनले उल्लेख गरे ।
रामारोशन गाउँपालिकाको कार्यालयका अनुसार वर्ल्ड रेन्बो फेमिली नामक जमघटका लागि विदेशी पर्यटक आएका छन् । जसमा भारत, अमेरिका लगायत विभिन्न देशका नागरिक छन् ।
अहिलेसम्म अछाममा दुई सयको हाराहारीमा पर्यटक पुगिसकेको जनाइएको छ । सुरक्षा संवेदनशीलता रहेका कारण उनीहरूलाई स्थानीय प्रशासनले विभिन्न ठाउँमा रोकेको छ ।
रामारोशन गाउँपालिकाको कार्यालयले भने आएका पर्यटकहरू सामाजिक रूपमा प्रतिकूल असर नगर्ने गरी बसेकाले सेप्टेम्बर १५ देखि अक्टोबर १५ सम्म एक महिनाको लागि उनीहरूको जमघट कार्यक्रमलाई अनुमति दिन माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेर पठाएको छ ।
यसैबिच, अछामको रामारोशनका लागि आएका पर्यटकहरूलाई अनुमति दिनका लागि पहल गर्ने वा नगर्ने विषयमा प्रदेशमा छलफल चलाइएको छ ।
पर्यटकलाई रामारोशन प्रवेश र कार्यक्रम गर्न दिने विषय सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र परेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले बताए ।
उनले भने, ‘आएका पर्यटकलाई अनुमति दिने वा नदिने विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्दैन । यो सङ्घीय सरकारको अधिकार क्षेत्रको कुरा हो । तर के गर्ने भन्ने विषयमा प्रशासनिक रूपमा प्रदेशमा छलफल चलाइएको छ ।













