धनगढी– त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा १३ करोड रुपैयाँको निर्यात व्यापार गरेको छ । यो अवधिमा अढाई अर्बको आयात भएको पनि जिल्ला भन्सार कार्यालय कैलालीले जनाएको छ ।
यो अवधिमा ५५ करोड ५६ लाख ४९ हजार ३ सय ११ रुपैयाँको सामान भारतबाट आयात भएको छ । नेपालबाट भारतमा १३ करोड ७० लाख ९८ हजारको सामान निर्यात भएको छ । दुई महिनामा व्यापारघाटा २ अर्ब ४१ करोड ८५ लाख रहेको पनि जिल्ला भन्सारले जनाएको छ । आयातबाट ९८ करोड ७१ लाख ३१ हजार र निर्यातबाट ४ लाख ४७ हजार गरी ९८ करोड ७५ लाख ८० हजार राजस्व संकलन भएको भन्सारले जनाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २६ अर्ब ७१ करोड ९९ लाख ७८ हजारको सामान आयात हुँदा ४७ करोड ४७ हजारको सामान निर्यात भएको थियो । सो वर्ष भन्सार कार्यालयले निर्यातबाट ८ अर्ब २५ करोड ५४ लाख ८२ हजार राजस्व संकलन गरेको थियो भने निर्यातबाट २२ लाख ५८ हजार राजस्व संकलन गरेको थियो । सो वर्ष यस नाकाबाट व्यापारघाटा २६ अर्ब २४ करोड ९९ लाख ३० हजार भएको थियो ।
यो नाकाबाट नेपालले भारतबाट मुख्य रूपमा डिजेल, पेट्रोल, ग्यास, दालमोठ, पापडलगायतका नमकिन, निर्माण सामग्रीहरू फिनिसिङ सेरामिक्स, काँच, फलाम, कपडा, खाद्यान्न र तरकारीहरू आयात गर्ने गरेको छ । प्लान्ट क्वारेन्टिन कार्यालय भएको भएकाले पछिल्लो डेढ महिनायता खाद्यान्न र तरकारी आयात बन्द रहेको भन्सार अधिकृत पवित्रकुमार खड्काले बताए ।
यसैगरी त्रिनगर भन्सार नाकाबाट नेपालले कठ्ठा, रोजिन, टर्पेनटाइन, खयर कठ्ठा, खली, कालो नुन, चुनाढुंगालगायतका नौ प्रकारका सामग्री निर्यात गर्ने गरेको छ । निर्यातभन्दा आयात गर्ने सामग्री निकै धेरै रहेकोले व्यापारघाटा एकदमै धेरै भएको हो । यस नाकाबाट १ हजार ७ सय ९ प्रकारका सामान आयात हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
आर्थिक मन्दीका कारण आयात र निर्यात दुवै घटेको छ । भन्सार अधिकृत खड्काले आयात ठूलो परिमाणमा घटेकाले राजस्व संकलनसमेत आधा घटेको बताए । उनका अनुसार चालु आवको पहिलो र दोस्रो महिनामा राजस्व असुली लक्ष्यको ६० प्रतिशत मात्रै असुली भएको छ । भदौमा ८८ करोड ४० लाख १४ हजार लक्ष्य रहेकोमा ५१ करोड ९३ लाख २५ हजार (५८.७५ प्रतिशत) मात्रै असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
साउनमा ७२ करोड ३५ लाख ६९ हजार लक्ष्य रहेकोमा ४६ करोड ८२ लाख ५५ हजार (६४.७१ प्रतिशत) असुल भएको छ । व्यापारघाटा नियन्त्रण गर्न औद्योगिक र कृषि उत्पादन बढाउनुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूले स्थानीय स्तरमा उद्योग सञ्चालनका लागि सरकारले वातावरण बनाउनुपर्ने र कृषि उत्पादन बढाउन सरकारले लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
विगतमा कृषि उत्पादन त्रिनगर भन्सार नाकाबाट निर्यात भएर दक्षिण भारत र बंगलादेशसम्म पुग्ने गरेकोमा पछिल्लो समयमा ६० प्रतिशत कृषि उत्पादन आयात गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायी सुरेन्द्र राठीले बताए । उनले कृषि उत्पादन बढाउनेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताए ।













