धनगढी– धनगढी उपमहानगरपालिका -५ स्थित पञ्चोदय माविमा दृष्टिविहीन विद्यार्थीहरुका लागि निर्माण गरिएको जीवन ज्योति छात्रावास भवनको उद्घाटन गरिएको छ । नर्वेको ईनफिल फाउण्डेसनको सहयोगमा च्यारिटी हेल्थ फाउण्डेसनले एक करोड ४३ लाख रुपैयाँको लागतमा निर्माण गरेको १२ कोठा र सभाहलसहितको छात्रावास सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहराले शुक्रबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् ।
२०४० साल जेठ २ गते स्थापना भएको जीवन ज्योति छात्रावास जीर्ण भएपछि दृष्टिविहीन विद्यार्थीहरुलाई पठनपाठन र बसोबासमा समस्या भएको थियो। सो समस्या जानकारी पाएपछि विद्यालयको आग्रहमा च्यारिटी हेल्थ फाउण्डेसनले इनफिल फाउण्डेसनको सहयोगमा छात्रावास निर्माण गरेको हो । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार प्रा.डा. हेमराज पन्तले अवसर पाए दृष्टिविहीन व्यक्तिहरुले पनि समाजलाई योगदान पुर्याउन सक्ने बताउँदै उनीहरुलाई दया भन्दा अवसरको खाँचो रहेको बताए ।
सामाजिक विकास मन्त्रि गोविन्द बोहराले प्रदेश सरकारले पञ्चोदय माविलाई नमूना विद्यालय बनाउन चालु आर्थिक बर्षमा आवश्यक बजेट विनियोजन गरेको बताए । मन्त्र बोहराले जीवन ज्योति छात्रावास निर्माणमा सहयोग गर्ने सबै संस्थाप्रति आभार व्यक्त गरे । उद्घाटन कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले दृष्टिविहीन विद्यार्थीका लागि छात्रावास निर्माण गरेकोमा च्यारिटी हेल्थ फाउण्डेसन र ईनफिल फाउण्डेसनलाई धन्यवाद दिए ।
पञ्चोदय माविकी पूर्व शिक्षिका रुपा राईले जीवन ज्योति छात्रावासबाट हालसम्म ५६ जना दृष्टि बिहीन छात्रछात्राले एसएलसी पास गरेको र ती मध्ये १८ जना शिक्षण पेशामा आबद्ध रहेको जानकारी दिइन् ।
विद्यालयका प्रधानाध्यापक हरिश कुमार ओझाले जीर्ण भवनका कारण पठन पाठन र बसोबासमा समस्या झेल्दै आएका दृष्टिबिहीन विद्यार्थीहरुलाई नयाँ भवन निर्माणले पठन पाठन र बसोबासमा अत्यन्त सहज हुने बताए । उनले बिगतमा २०/२२ जना दृष्टि बिहीन विद्यार्थी मात्र राख्न सकिने छात्रावासमा अब ५० देखि ६० जना राख्न सकिने बताए ।
च्यारिटी हेल्थ फाउण्डेसनका अध्यक्ष बरिष्ठ नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तले ईनफिल फाउण्डेसनको सहयोगमा करीव डेढ करोड रुपैयाँको लागतमा छात्रावास निर्माण गरेको बताए । उनले दृष्टिबिहीन विद्यार्थीहरुको पठ्न पाठनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।
च्यारिटी हेल्थ फाउण्डेसनले हालसम्म सुदूरपश्चिमका सबै जिल्लामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आइरहेको छ । डा. पन्तले हालसम्म १५ हजार शल्यक्रिया गरिसकेको ३० हजार जनालाई निशुल्क चस्मा बितरण गरिएको जानकारी दिए । फाउण्डेसनले बिगत चार वर्षदेखि निशुल्क शव बाहन पनि सञ्चालन गर्दै आएको छ । उद्घाटन कार्यक्रम पञ्चोदय माविका अभिभावक संघका अध्यक्ष ज्योति भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।













