धनगढी- नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सीले समाजवादी मोर्चालाई पार्टी एकतासम्म लैजानुपर्ने बताएका छन् ।
शनिबार समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै उनले समाजवादी मोर्चालाई वडा तह सम्म लैजानका लागि मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले समाजवादी मोर्चामा कम्युनिष्ट विचारधारा राख्ने अरु दललाई पनि समेटेर लैजाने बताए । अहिले पनि मोर्चालाई फुटाउने काम भइरहेकोले त्यसतर्फ आफूहरु सचेत रहेको उनको भनाइ छ । देशलाई अस्थिरतातर्फ धकेल्नका लागि देशीबिदेशी शक्तिहरुले धेरै चलखेल खेलिरहेको बताउँदै उनले त्यसतर्फ मोर्चा सचेत रहेको बताए । उनले मोर्चाका विरुद्ध प्रतिगामी तत्वहरु लागि परेको भन्दै संसदीय व्यवस्था मान्ने र समाजवाद मान्नेबीच जनमत संग्रह गर्नुपर्ने बताए ।
संसदीय व्यवस्थाले देश टाँट पल्टिने अवस्थामा पुगेको बताउँदै उनले युवा विदेशिने क्रम बढेको भन्दै स्वदेशमै युवालाई रोजगारी दिने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए । सन्देशसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य कृष्णकुमार चौधरीले मोर्चामा आवद्धदलहरु एकजुट भएर जनजिविका र सुशासनका पक्षमा काम गर्नुपर्ने बताए ।
सन्देशसभालाई नेपाल कम्युनिष्ट एकीकृत समाजवादीका केन्द्रीय सदस्य माया भट्टले समाजवादी मोर्चालाई जनतासँग जोडेर लैजानुपर्ने बताइन् । जनता पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य रंगनाथ सि, नेकपाका ब्यूरो इन्चार्ज एवं संविधानसभा सदस्य भगत सिंह सी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का जिल्ला संयोजक लाजुराम चौधरी, प्रदेश कमिटी सदस्य गोविन्द बिसी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष विमलकुमार जोशी, जनता समाजवादी पार्टीका प्रदेश उपाध्यक्ष गोबिन्द राना, नेपाल कम्युनिष्ट पार्टीका प्रकाश सी लगायत अतिथि रहेका थिए ।
जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गयाप्रसाद कुश्मीको अध्यक्षतामा सम्पन्न भएको सन्देशसभामा कार्यक्रमको सञ्चालन एकीकृत समाजवादीका जिल्ला सचिव दीर्घ कापडी जोशीले गरेका थिए । मोर्चाले कैलालीका १३ वटै पालिकामा पनि सन्देशसभाको आयोजना गर्नेसमेत निर्णय गरेको छ ।













