धनगढी- कैलालीमा बोईलर कुखुरासहित अवैध सामान बरामद गरिएको छ। जिल्लको धनगढी उपमहानगरपालिका वडा नम्बर १ त्रिवेणी घाट, वडा नम्बर ३ बिशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका १६ हजार ८ सय मूल्यको प्याज, किरानाका सामान र बोईलर कुखुरा लगायतका अवैध सामान प्रहरीले बरामद गरेको छ।
यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट ८ हजार ७ सय मूल्यको प्याज र भजनी नगरपालिका–८ बहादुरपुरबाट २४ हजार मूल्यको प्याज बरामद गरिएको प्रहरीले जनाएको छ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका १० हजार मूल्यको चिनी, पानी पुरीमा प्रयोग हुने मसला लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।













