धनगढी– नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो । जनता समाजवादी पार्टीबाट अलग भएपछि बाबुराम भट्टराई तथा महेन्द्र राय यादव नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो ।
पार्टी पुनर्गठन प्रदेश भेलाले मिनराज बडुको अध्यक्षतामा ९९ सदस्यीय प्रदेश कमिटी गठन गरेको हो । पार्टीको प्रदेश उपाध्यक्षमा हरिप्रसाद तिमिल्सिना, बिनोद चन्द, सिता नागरी र दिनेश बिष्ट चयन भएका छन् । यस्तै मुख्य सचिवमा राजाराम चौधरी, सचिवमा डम्मर पाण्डे, गगन बिक, कोषाध्यक्षमा सुरेन्द्र यादवसहित ९९ सदस्यीय प्रदेश कमिटी चयन गरेको प्रदेश अध्यक्ष बडुले जानकारी दिए ।
प्रदेश कमिटी गठनसंगै जिल्ला भेलाहरुलाई तिब्रता दिने बडुले बताए । ‘हामी अब आफ्नो पार्टीलाई बिस्तार गर्ने, जिल्ला भेला गर्नेदेखि लिएर आम जनताका मुद्दा बोकेर अगाडि बढ्ने छौँ,’ बडुले भने, ‘यहाँ प्रदेश सरकार कहाँ छ खोज्नुपर्ने बेला आएको छ, कतै भ्रस्टाचार भएको छ भने प्रदेशको बजेट हो भन्ने सुनिन्छ राम्रा काममा प्रदेशको उपस्थिति शून्य छ ।’
पत्रकार सम्मेलनमा बोल्दै नेपाल समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज डा. जनकराज शाहले पार्टी बिधिसम्मत तरिकाले नचलेपछि पुनर्गठन गर्नुपरेको बताए । पार्टीमा सुशासन कायम नभएपछि नेपाल समाजवादी पार्टी पुनर्गठन गर्नुपरेको उनले बताए । देशभरीमा आफ्नो पार्टीको राम्रै उपस्थिति भएका कारण आउने चुनावमा राम्रो उपस्थिती हुने उनले बताए ।














