धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले ११ महिनाको अवधीमा कुल विनियोजित बजेटको ४४ दशमलव ३३ प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
प्रदेश सरकारले चालु आव २०८०/८१ को साउनदेखि जेठ मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटमध्ये चालुतर्फ ४९ दशमलव १५ प्रतिशत र पूँजीगततर्फ ४१ दशमलव ७३ प्रतिशत बजेट खर्च गरेको हो ।
प्रदेश सरकारले सो अवधिमा चालुतर्फ रु.पाँच अर्ब ८७ करोड ७७ लाख र पूँजीगततर्फ रु. सात अर्ब १० करोड ४७ लाख गरी रु. १२ अर्ब ९८ करोड २४ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय धनगढी कैलालीका सूचना अधिकारी यज्ञराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारले चालु आव २०८०/८१ का लागि कुल रु. २९ अर्ब २८ करोड ४० लाख बजेट विनियोजन गरेको थियो । चालुतर्फ रु. ११ अर्ब ९६ करोड १६ लाख,पूँजीगततर्फ रु. १७ अर्ब दुई करोड २३ लाख र वित्तिय व्यवस्थापनतर्फ रु. ३० करोड बजेट विनियोजन गरेको कार्यालयले जनाएको छ ।
सो ११ महिनाको अवधीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले रु. १६ करोड ३० लाख, भौतिक पूर्वाधार विकास मन्त्रालयले रु. छ अर्ब २४ करोड ९१ लाख,सामाजिक विकास मन्त्रालयले रु. दुई अर्ब ८६ करोड ६९ लाख र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले रु. ९४ करोड ६३ लाख बजेट खर्च गरेको सूचना अधिकारी पाण्डेय जानकारी दिए ।
उनकाअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु. १७ करोड ३० लाख, आर्थिक मामिला मन्त्रालयले रु. सात करोड ३७ लाख र भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले रु. ८८ करोड ९० लाख खर्च गरेको छ । त्यस्तै,प्रदेश व्यवस्थापिकाले रु. ११ करोड ३९ लाख,प्रदेश लोक सेवा आयोगले रु. चार करोड चार लाख र प्रदेश नीति तथा योजना आयोगले रु. एक करोड ७८ लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।














