२०३३ सालमा स्थापना भएको कैलालीको धनगढी ५ हसनपुर स्थित ऐश्वर्य विद्या निकेतनको शैक्षिक अवस्था,शिक्षाको गुणस्तरीयता,शैक्षिक वातावरणलगायत बिषयमा प्राचार्य प्रेमनिधि ओझाको निशाना न्युजले बिचार प्रस्तुत गरेको छ ।
ऐश्वर्य विद्या निकेतनको स्थापना २०३३ सालमा भएको थियो । यस विद्यालयले सर्वप्रथम २०४२ सालमा विद्यार्थीलाई एसएलसीमा सामेल गराएको थियो । तत्पश्चात १२ पटक नेपाल सरकारले उत्कृष्ट विद्यालय, उत्कृष्ट नतिजाका लागि माध्यमिक विद्यालय शिल्डबाट पुरस्कृत गरिसकेको छ । यस विद्यालयमा प्लस टु कक्षा विज्ञान संकायको सुरुवात ०५२ सालमा तथा आर्ट,एजुकेशन र कमर्श संकायको सुरुवात २०५३ सालमा भएको थियो ।
यस विद्यालयमा ११÷१२ मा जम्माजम्मी १ हजार ६ सय र पूर्व प्राविदेखि कक्षा १० सम्म २ हजार २ सय ७६ विद्यार्थीहरु अध्यनरत छन् ।
शिक्षक र कर्मचारीको संख्या १ सय ५० रहेको छ । यो विद्यालयलाई सार्वजनिक शैक्षिक गुठी भनिन्छ । विद्यालयले आफ्ना शैक्षिक क्रियाकलापलाई व्यवस्थित पार्नका लागि शिक्षक कर्मचारीका सेवा सुविधा व्यवस्थित पार्नका लागि विद्यालय सञ्चालन विनियम २०७८ प्रयोगमा ल्याएको छ । नगरका बाहेक अन्य जिल्लाका हजारौँ अभिभावक र विद्यार्थीले यो विद्यालय माथि आस्था र भरोशा राखेका छन् ।
यसको गुणस्तर यहाँका विद्यार्थीले विभिन्न तहमा पास गरेका बोर्ड तथा आन्तरिक परीक्षाहरुको परिणाम हेर्दाखेरी छर्लङ्ग हुन्छ । यस विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु स्थानीय स्तरमा २५ देखि ३० जना डक्टरहरु रहेका छन् । शिक्षक,इन्जिनियर रहेका छन् । ऐश्वर्यको प्रतिनिधित्व प्रत्येक बैंक कलेज,विद्यालय र कार्यालयहरुमा रहेको छ ।
हालै प्रकाशित २०८० को एसइईको नतिजामा यस विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । ३.६ देखि ४ जिपिएसम्मका ३३ जना,३.२० देखि ३.६० जिपिएसम्मका ९२ जना,२.८० देखि ३.२० जिपिएसम्म १ सय ३ जना र २.४० देखि २.८० जिपिएसम्मका ३३ जना रहेका छन् । ३३ जना ए प्लस ल्याउने यो प्रदेशमा यो विद्यालय मात्र रहेको भन्ने मेरो धारणा रहेको छ ।
हाम्रो यहाँको शैक्षिक वातावरण पनि राम्रो रहेको । कुनै पनि व्यक्तिलाई योग्य वातावरण राख्ने हो भने त्यसको मनस्थित त्यस्तै हुन जान्छ । सबभन्दा ठूलो विद्यार्थीका लागि अनुशासन हो । जुन विद्यालय संस्थाहरुमा अनुशासन रहन्छ आफसेआप शैक्षिक वातावरण सिर्जना हुन्छ । विद्यार्थीहरुलाई व्यवस्थापन गर्नका लागि हामीसँग व्यवस्थापन समिति पनि छ । प्रत्येक विभागलाई नियन्त्रण गर्नका लागि र अनुशासनमा राख्नका लागि विभागिय संयोजकको व्यवस्था रहेको छ ।
पूर्व प्रावि,प्रावि,आधारभूत तहका,मावि र उच्च माविका संयोजक साथसाथै अनुशासन इन्चार्ज पनि रहेका छन् । प्राचार्य,सह–प्राचार्यलगायतको एउटा अनुशासन समिति बनेको छ । त्यो अनुशासन समितिले तलदेखि माथिसम्म निरन्तर विद्यार्थीका शैक्षिक क्रियाकलापहरु,कक्षा कोठादेखि बाहिरसम्मका शैक्षिक क्रियाकलापहरु अवलोकलन गरेर विद्यार्थीलाई परामर्श गरिन्छ । विद्यालय र अभिभागका बीचमा पटकपटक तहगत अन्तरक्रिया हुन्छ । स्टाप बैठक बस्छ । यी सबै कुराहरु तलदेखि माथिसम्म सूचना आदान प्रदान हुन्छ । हामीले अनुशासन कायम गर्न सकेकोले विद्यार्थीले कक्षामा मात्रै राम्रोसँग अध्ययन गर्ने नभएर घरमा पनि गृहकार्य गरेर आउने,शिक्षकहरुले जाँच गर्ने यी कृयाकलापले यसको गुणस्तर बढेको हो ।
विद्यालय वा शिक्षाको अन्तिम उदेश्य बालबालिकाको व्यवहारलगायतमा परिर्वतन गर्नु हो । हाम्रो काम भनेको बालबालिकालाई शिक्षा,दिक्षा दिने,संस्कारका कुरा बताउने,कक्षा कोठामा नेपाल सरकारले लागू गरेका पाठ्यपुस्तक व्यवस्थित रुपले पठनपाठन गर्ने हो । यो निरन्तर पठनपाठन र मुल्यांकन प्रकृया रहेको हुनाले,शिक्षकले निरन्तर कक्षामा जाने पठनपनठन गर्ने,कोर्ष समापन गर्ने निरन्तर चलिरहन्छ ।













