धनगढी- पूर्वाधार विकास कार्यालय कैलालीले ८० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानका सडक कालोपत्र गरेको हो ।
सो अवधिमा कार्यालयले १९ दशमलव ८ किलोमिटर सडक ग्राभेल गरेको, एक सडकपुल र दुई वटा कल्भर्ट निर्माण गरेको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सूर्यप्रकाश जोशीले जानकारी दिए ।
सुखड–भजनी सडकमा १८ किलोमिटर सडक कालोपत्र गरिएको तथा अन्य स–साना विभिन्न ग्रामीण सडकमा ६२ किलोमिटर कालोपत्र सम्पन्न गरेको उनले जानकारी दिए ।
कार्यालयले जिल्लाको घोडाघोडी नगरपालिका–२ स्थित बौराहा नदीमा सडकपुल निर्माण सम्पन्न गरेको उनले बताए । त्यस्तै, धनगढी उपमहानगरपालिका–११ स्थित बहिरा स्कुल जाने सडकमा र गोदावरी नगरपालिका–१२ आदर्शटोल जाने सडकमा कल्भर्ट निर्माण गरिएको इन्जिनियर जोशीले बताए ।
आर्थिक वर्ष २०८०/८१ मा सालबसाली र बहुवर्षीय गरि तीन सय ६५ योजना रहेकोमा १९ वटा योजना कार्यान्वयनमा नआएको उनको भनाइ छ । उनले भने ‘कार्यान्वयनमा नआएका योजना बढी जसो सडकपुलका थिए । ती योजना बहुवर्षीय योजनामा स्वीकृत भएनन् । त्यसैले कार्यान्वयनमा आउन नसकेका हुन् ।’
कार्यालयको आर्थिक वर्ष २०८०/८१ मा पूँजीगत बजेट एक अर्ब १३ करोड ६० लाख रहेकोमा ९२ करोड ५७ लाख ७५ हजार खर्च भएको कार्यालयका लेखा अधिकृत नरबहादुर भाटले जानकारी दिए ।













