धनगढी । कैलालीमा सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टको नेतृत्वमा खटिएको टोलीले आइतबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाखिरी बस्ने ४४ वर्षीय दिपक गुप्ता र ३४ वर्षीय सुमित बर्मा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरूको साथबाट ५४९ दशमलव दुई सय ग्राम सुन, ४४ हजार ८१० नेपाली रूपैयाँ, एक हजार २८० भारतीय रूपैयाँ,एउटा ल्यापटप,दुई वटा मोबाइल र सुन बोक्न प्रयोग गरिएको युपी ३२ जेभी ९२०० नम्बरको भारतीय गाडी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको जनाइएको छ।













