कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडामा भारतबाट नेपाल तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१० प १३२५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २७ वर्षीय गणेशबहादुर खड्का र पछाडी सवार सोही पालिकाको वडा नं.–६ गुलरीयाका ३३ वर्षीय चेतराज भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ । चेकजाँच गर्दा ६.४२ ग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाईकल र दुवै जनालाई प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।
यस्तै भीमदत्त नगरपालिका–९ ब्रहमदेवको सडक खण्डबाट सोही ठाउँ बस्ने ३५ वर्षीय गणेश बुढा खैरो हेरोइनसहित पक्राउ परेका छन्। बुढालाई ०.६९ ग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।













