गोकर्ण भट्ट
जनयुद्धकालका घाउहरु कोट्याएर नुन छर्किने काम कहीँ कतै कसैबाट हुनुहुँदैन परिवर्तनका लागि गरिएका जुनसुकै आन्दोलनमा मानवीय क्षति नभएको देखिदैन , २००७ सालदेखिका हरेक आन्दोलनमा माननवीय क्षति भएको देखिन्छ , जनयुद्ध मुलुकमा रहेको विभेद , असमानता निरंकुशता बिरुद्ध र गणतन्त्र प्राप्ति लागि संचालन गरिएको सशस्त्र युद्ध थियो ।
अहिले आएर यसको व्याख्या आ-आफ्नै तरिका र दृष्टकोणले गरे पनि जनताको व्यापक सहभागितामा संचालन गरिएको आन्दोलनको आफ्नै ऐतिहासिक महत्व रहेको छ ।
युद्धरत पक्ष र राज्यपक्ष कसैले पनि जित्न सक्ने स्थिति नरहेरै दुबै पक्षका बीच सम्झौता भएर गणतन्त्रात्मक राज्य व्यवस्था र संविधान मुलुकले पाएको सबैका सामु जगजाहेरै छ ।
युद्ध भनेको कहिल्यै पनि पितृको श्राद्ध गरेको जस्तो अथवा सत्यनारायणको पूजा गरेको जस्तो हुन्छ जस्तो मलाई लाग्दैन । त्यसैले वर्तमानमा आएर युद्धकालका घाउहरु कोट्याउने काम नगर्दा नै उपयुक्त होला ।
युद्धकालमा युद्धरत पक्ष र राज्यपक्ष दुबैबाट निर्दोष र साधारण मानिसहरुले अनाहकमा ज्यान गुमाएका पनि थिए । मैले आजसम्म कहीँ कतै भनेको थिएन र भन्न जरुरी पनि छ जस्तो लागेको थिएन । सन्दर्भबस भन्नु पर्छ भन्ने लागेर मैले राज्यपक्षबाट कति पीडा र क्षति भोग्नु पर्यो भन्नेकुरा लेख्दैछु ।
मेरो श्रीमती दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा प्राथमिक शिक्षकको रुपमा कार्यरत रहदा २०५९ भाद्र १९ गते साँझ ४ बजे सेनाद्वारा ट्याक्टर चालकलाई मदिरा सेवन गराएर बिहानैदेखि बाटो ढुकेर दुर्घटनाको नाममा हत्या गर्ने काम भएको थियो ।
हत्या भैसकेपछि पनि म क्रिया बसेको घरमा दिनहुँ सेना र प्रहरी आएर मानसिक यातना दिइन्थ्यो । स-साना छोराछोरीको चिन्ता एकातिर हुन्थ्यो भने अर्कोतिर कतिखेर हत्या हुने हो ।
सधै धम्की आइरहन्थ्यो । अन्तिममा कुनै सीप नलागेर घर छोड्न बाध्य भए । राज्यपक्षबाट गरिएको ज्यादति र हत्या आतंक कम कहालिलाग्दो थिएन ।
जसले भोगेको थियो उसलाई पो थाहा हुन्छ । राज्यपक्षका जल्लादहरुको सिकार भएको ज्युँदोजाग्दो उदाहरणीय पात्र मात्रै हुँ म । त्यसैले बिगतका घाउहरु नकोट्याउन सबैमा म अनुरोध गर्दछु ।













