धनगढी । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) धनगढी उपमहानगर कमिटीको बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ ।
आज पार्टीका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकले पार्टीको तराई-मधेस जागरण अभियान सम्पन्न गर्ने सन्दर्भमा विभिन्न निर्णय गरेको माओवादी केन्द्रका उपमहानगर कमिटी उपाध्यक्ष रमेश भट्टराईले जानकारी दिए ।
उनले आगामी चैत ७ गते कैलाली पुग्ने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुको अभियान टोलीलाई धनगढीमा स्वागत गर्ने तथा खबरदारी सभाको आवश्यक तयारीका लागि विभिन्न विभाग गठन गरिएको बताए ।
उनले अभियानका क्रममा धनगढीमा आयोजना गरिने खबरदारी सभामा १० हजार जना भन्दा बढीको सहभागीता गराउने गरि तयारी थालिएको बताए ।
बैठकले आसन्न स्ववियु चुनाव र यही फागुन २० गते टीकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाकाे राष्ट्रिय सम्मेलन बारे विभिन्न निर्णय समेत गरेको बताए । फागुन १२ गते झापाबाट सुरु भएको जागरण अभियानमा चैत ८ गते कञ्चनपुर पुगेर समापन हुनेछ ।














