धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा श्रमिक महिलालाई सम्मान गरेर ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले जोशीपुर गाउँपालिकामा आज श्रमिक महिलालाई सम्मान गरि नारी दिवस मनाएको हो ।
जोशीपुर गाउँपालिका- ४ मा रहेको एनइपी नेपाल इट्टाभट्टामा श्रमिक मजदुरका रुपमा बिगत ७ वर्षदेखि कार्यरत १२ जना महिलालाई दोसल्ला ओढाइ अबीर लगाएर सम्मान गरिएको थियो ।

त्यस्तै, वडा नं ४ झवहीस्थित केराबारीमा श्रमिकका रुपमा कार्यरत १० जना महिलालाई पनि बारीमा नै उपस्थिति भै खादा अबीर लगाइ सम्मान गर्नुका साथै मिठाई वितरण गरिएको छ ।

कार्यक्रममा संविधानसभा सदस्य एवं माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका सदस्य हरि श्रीपाइली,माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्ज नेपबहादुर चौधरी,अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश सचिव कमला ज्ञवालीले नारी दिवसको महत्त्व र नेपालमा महिला मुक्ति आन्दोलनका बारेमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै,माओवादी केन्द्रका जोशीपुर गाउँ कमिटी अध्यक्ष दीर्घ विनाडी,जोशीपुर गाउँपालिका इन्चार्ज ओजारीलाल चौधरी र खेमा ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।















