धनगढी । प्रदेशको केही उद्योग तथा वनसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको छ। शनिबार बसेको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले प्रदेश सभामा सो विधेयक टेबुल गरे । प्रदेशको आर्थिक व्यवस्थालाई वृद्धि गर्न र रोजगार बढाउनका लागि प्रदेश स्तरीय वन सम्बन्धी ऐन संशोधन गर्न लागिएको उनले बताए ।
शनिबारको बैठकमा प्रतिपक्षी दल नेकपा (माओवादी), नेकपा एकीकृत समाजवादी, राप्रपाले प्रदेश सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै विरोध जनाएका छन् ।
सरकारले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ढिलासुस्ती गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मानबहादुर धामीले बताए । उनले चालु आर्थिक वर्षको हालसम्मको बजेट खर्चको अवस्था अत्यन्त न्युन रहेको भन्दै कडा आलोचना गरे ।
उनले सरकारले स्थानीय तहमा कार्यरत करारका कर्मचारीबिच मात्रै प्रतिस्पर्धा भइ स्थायी हुने किसिमको कानुन ल्याइरहेकोमा आपत्ति जनाउदै यसको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थीको आन्दोलनप्रति ऐक्यबद्धता जनाए । उनले तुरुन्त नसच्याइए प्रतिपक्षी दल पनि सडकमा उत्रिने चेतावनी समेत दिए ।














