धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा डोगडीबाट बुढीगंगा तर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बुढीगंगा नगरपालिका–४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको ट्याक्टरको ट्रली मुनी च्यापिएर घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
ट्याक्टरमा सवार अन्य तीन जनामध्ये चालकको १२ वर्षीय छोरा शमशेर रावत घाइते भएको प्रहरीले जनाएको छ । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भई सडकबाट ट्याक्टरको ईन्जिनको भाग अन्दाजी २५० मिटर र ट्रली ५० मिटर तल खसेर आइतबार राति ११ बजे दुर्घटना भएको जनाइएको छ ।













