धनगढी । आन्तरिक राजस्व कार्यालय धनगढी राजस्व संकलन लक्ष्यमा पुग्न सकेन् । कार्यालयको चालु आव २०८१/८२ को नौ महिनाको राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको हो ।
चालु आवका नौ महिना अर्थात चैत मसान्तसम्म कार्यालयको २ अर्ब ५१ करोड ३४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १ अर्ब ८६ करोड ५८ लाख मात्रै संकलन भएको आन्तरिक राजस्व कार्यालय धनगढीका सूचना अधिकारी छत्रबहादुर माझीले जानकारी दिए ।
नौ महिनामा संकलन भएको राजस्व लक्ष्यको ७४.२४ प्रतिशत मात्रै भएको उनले बताए । कार्यालयको चालु आवमा ३ अर्ब ५३ करोड ५८ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेको छ । हाल संकलन भएको राजस्व वार्षिक लक्ष्यको ५२.७७ प्रतिशत रहेको उनले बताए ।
गत आव २०८०/८१ मा कार्यालयको ३ अर्ब ८ करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर गत आवमा लक्ष्यभन्दा कम २ अर्ब ६७ करोड ८२ लाख राजस्व सङ्कलन भएको भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।
जुन वार्षिक लक्ष्यको ८६.८४ प्रतिशत मात्रै रहेको थियो । यस वर्षको राजस्व संकलन पनि लक्ष्यमा पुग्ने सम्भावना कम रहेको उनले बताए । उनले भने ‘गत वर्ष पनि राजस्व संकलन लक्ष्यमा पुगेको थिएन्,यस वर्ष पनि सम्भावना कम छ ।














