ताप्लेजुङ । फुङलिङ नगरपालिका-१० सेवारो चोकस्थित सडकमा मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा सोमबार बिहान आगलागी हुँदा ४ जनाको जलेर घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा बोलेरो चालक सोही नगरपालिका-१० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई, बोलेरोमा सवार ललितपुर ललितपुर महानगरपालिका-१० बस्ने १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका-१५ बस्ने ७० वर्षीय विनोद पौडेल र ६९ वर्षीया सरिता पौडेल रहेका छन् ।
ताप्लेजुङको सदरमुकामबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको उक्त गाडीमा विद्युतको पोलबाट चुडिएर बाटोमा झरेको तारमा अल्झिएर आगलागी भएको थियो ।
साथै उक्त घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको ह्याम्स अस्पताल काठमाडौंमा थप उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














