धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलालीको टीकापुर आउने भएका छन् ।
माओवादी केन्द्रले सञ्चालन गरेको तराई-मधेस जागरण अभियानका क्रममा प्रचण्डसहितको टोली कैलाली आउने भएको हो ।
सो पार्टीले गत फागुन १२ गते झापाबाट सुरु गरेको तराइ-मधेस जागरण अभियान यही वैशाख १७ गते कञ्चनपुर पुगेर समापन हुँदैछ । हुलाकी राजमार्ग केन्द्रित अभियान टोली आज साझ कैलाली प्रवेश गर्ने भएको छ ।
अभियान टोलीमा अध्यक्ष ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरु पनि आउने माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले जानकारी दिए ।
उनले टोलीलाई साँझ ५ बजे टीकापुर नगरपालिकाको सत्ती कर्णालीमा स्वागत गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
कैलाली र कञ्चनपुरका विभिन्न स्थानहरुमा विविध कार्यक्रम गरि वैशाख १७ गते कञ्चनपुरमा अभियान समापन हुने जनाइएको छ ।
बैशाख १६ गते कैलाली र १७ गते कञ्चनपुरका विभिन्न ठाँउहरुमा सम्बाद,सहिद परिवार भेटघाट, जनभेटघाट, अन्तरक्रिया, ज्ञापनपत्र ग्रहणलगायतका कार्यक्रम हुने माओवादी केन्द्रले जनाएको छ।
वैशाख १७ गते साढे ३ बजेदेखि ५ बजेसम्म भीमदत्त नगरपालिका-४ स्मारक चोकमा अभियान समापन कार्यक्रम रहेको जनाइएको छ ।













