धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न तराई–मधेस जागरण अभियान सुरु गरिएको बताए ।
पार्टीको जिल्ला समन्वय समिति कैलालीले मङ्गलबार कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले जनतासँगको सम्बन्ध सुदृढ नहुँदा पार्टी कमजोर हुँदै गएको बताए । उनले भने ‘सहिद परिवार,वेपत्ता परिवार,घाइते,अपाङ्ग परिवारसँगको सम्बन्ध घनिष्ट र सुदृढ बनाएर नजानु पार्टीको कमजोरी भएको हो । सम्बन्ध सुदृढ गर्न अभियान सञ्चालन ग¥यौँ ।’
उनले भने ‘हामीलाई माया गर्ने वर्गसँगको सम्बन्धलाई बलियो बनाउँदै जाने कुरामा कमी हुनु नै हाम्रो कमजोरीको मुख्य कारण हो भन्ने निष्कर्ष पार्टीले निकालेपछि हामीले यो तराई–मधेस जागरण अभियान सुरु गरेका हौँ ।’
उनले अभियानले जनसम्बन्ध सुदृढ हुँदै गएको बताउँदै अभियानले जनतामा माओवादी प्रति आशा जागेको बताए ।
आज बिहानदेखि अध्यक्ष प्रचण्ड कैलालीका विभिन्न स्थानमा जनसभा,सहिद परिवार,वेपत्ता परिवार भेटघाटलगायतका कार्यक्रममा सहभागी भएका थिए । अभियान टोली आज साँझ कञ्चनपुर प्रवेश गरेको छ ।
गत फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान भोलि कञ्चनपुरमा समापन हुने जनाइएको छ ।














