धनगढी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमामा देखिने समस्या समाधानमा पहल गर्ने बताएका छन् ।
तराई–मधेस जागरण अभियानका क्रममा बुधबार बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बुझाएका ज्ञापनपत्र बुझ्दै उनले समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले भने ‘ज्ञापनपत्रमा राखिएका माग महत्वपूर्ण र यहाँका जनताका लागि आवश्यक पनि छन् । चाहे भन्सार स्तरोन्नति गरि नियमित सञ्चालनमा ल्याउने कुरा होस्,सीमा समस्या होस्,सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या होस् । यसको समाधानका लागि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सके जति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’
उनले बेलौरी नगरपालिकाले भौतिक पूर्वाधारदेखि पर्यटन विकास,कृषि,शिक्षा,स्वास्थ्य सबै क्षेत्रमा राम्रो पहल लिएको तथा जनतालाई सेवा तथा राहत प्रदान गर्न भूमिका खेलेको भन्दै प्रसंशा गरे ।
कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख चौधरीले अध्यक्ष प्रचण्डलाई नगरपालिकाका समस्या र आवश्यकताहरू समेटिएको १५ बुँदे ज्ञापनपत्र बुझाएका थिए ।













