धनगढी । कैलाली र कञ्चनपुरमा भन्सार छलीका समान बरामद गरिएको छ । बिहीबार जिल्लाका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलन चोक नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु ३४ हजार २ सय बराबरको काजु, धोती, मेक्सी, सुटपिस, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ रिछाबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी रु १ लाख २१ हजार ४ सय बराबरको बिडी, सुर्ती, पेय पदार्थ, चियापत्ती, तरकारी, दाल, एक थान मोटरसाइकल लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।














