नेकपा एमालेका युवा नेता हुन् मदन रेग्मी । लामो समयदेखि एमाले पार्टीको विभिन्न जनवर्गीय संगठनमा रहेर कामको जिम्मेवारी सम्हाल्दै आएका रेग्मी विचारमा परिपक्वता छन् । आलोचना समालोचना गर्न सक्षम रेग्मीको विचार यहाँ निशाना न्युजले उनकै भाषामा जस्ताको त्यस्तै प्रस्तुत गरेको छ :–
नेकपा एमाले नेपालको राजनीति मात्र होइन, लोकतान्त्रिक यात्राको महत्वपूर्ण आधार स्तम्भ हो । लामो संघर्ष र बलिदानको शृङ्खलाबाट यो पार्टी आजसम्म आइपुग्दा जनताको ठूलो आस्था, विश्वास र समर्थन बोकेको छ । तर पछिल्ला केही वर्षमा पार्टीभित्रै गहिरो समस्या र बिचलनहरू देखा पर्न थालेका छन् ।
सबैभन्दा पहिलो कुरा, पार्टीभित्र चाकरी संस्कृतिको विकास भएको देखिन्छ । केही साथीहरूलाई नेताको चाकरी बजाउनु नै पार्टी काम लाग्छ, नेताको व्यक्तिगत हितलाई सघाउनु नै आफ्नो योगदान ठान्छन् । तर जब कसैले पार्टीको नीति–विधिको दायराभित्र रहेर सैद्धान्तिक बहस गर्छ,
उनीहरू उल्टै यो एमाले होइनू भन्ने प्रमाणपत्र बाँड्न पनि पछि पर्दैनन् । यस्तो प्रवृत्तिले पार्टीलाई बलियो होइन, कमजोर बनाउँछ । किनकि साँचो एमाले त्यो हो जसले नेताको होइन, नीतिलाई प्राथमिकता दिन्छ ।
दोस्रो, पछिल्लो दशकमा पार्टी अत्यधिक व्यक्तिकेन्द्रीत हुँदै गएको छ । नेताको छायामा संगठन सुक्दै गएको छ । आन्तरिक लोकतन्त्रभन्दा व्यक्ति विशेषको बर्चस्व बढ्दै गएको छ । यसै क्रममा सत्ताको लोभले पार्टीले सिद्धान्तविहीन सम्झौता गर्दै आएको तथ्य लुकाउँदा पनि लुक्दैन् । यी सबै कारणले जनता बीच पार्टीप्रति असन्तुष्टि बढ्नु स्वाभाविक हो ।
तेस्रो, नेताहरू र जनताबीचको दूरी दिनानुदिन बढ्दै गएको छ । तेल र पानीको मिश्रण बाट तेल अलग्गै देखिए जस्तै नेताहरू सुकिला–मुकिला, विलासी जीवनशैलीमा रमाउदै जनताबाट अलग्गै देखिन थालेका छन् भने जनता आफ्नै समस्यामा पिल्सिइरहेका छन् । यसले जनताभित्र सबै दल एउटै हुन्, सबै नेताहरू स्वार्थी हुन् भन्ने नकारात्मक धारणा निर्माण गरिदिएको छ । यस्तो स्थिति पार्टी मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थामाथि नै अविश्वास बढाउने खालको हो ।
यस्तो चुनौतीपूर्ण परिस्थितिमा, अब हाम्रो पुस्ता, अर्थात् युवा पुस्ता, अगाडि सर्ने बेला आएको छ । हामीले पार्टीलाई यी सबै कमजोरीबाट मुक्त गर्दै, फेरि जनताको आस्थाको केन्द्र बनाउनुपर्छ । हाम्रो लक्ष्य नेतामुखी होइन, नीतिमुखी राजनीति हुनुपर्छ । नेता–जनताको सम्बन्ध तेल र पानीजस्तो छुट्टिएको नभई, चिनी र पानीजस्तो अविच्छिन्न सम्बन्ध बन्नुपर्छ ।
त्यसका लागि के गर्नुपर्छ
पहिलो, पार्टीभित्र सैद्धान्तिक बहसको संस्कृतिलाई पुनःस्थापित गर्नुपर्छ । दोस्रो, निर्णय प्रक्रियामा सामूहिक नेतृत्व र संस्थागत संरचनालाई प्राथमिकता दिनुपर्छ ।
तेस्रो, सत्ताकै लागि होइन, सिद्धान्त र नीतिका लागि गठबन्धन गर्ने संस्कृतिलाई जोगाउनुपर्छ ।
चौथो, नेताहरूले जनतासँग आत्मीय सम्बन्ध कायम गर्दै जनताका सुख–दुःखमा प्रत्यक्ष सहभागी हुनुपर्छ ।
यदि हामीले यी सुधारहरू गर्न सक्यौँ भने एमाले मात्र होइन, समग्र वाम आन्दोलन नै फेरि एक पटक जनताको विश्वास जित्ने अवस्थामा पुग्छ । युवा पुस्ताले यही जिम्मेवारी काँधमा लिनु आजको आवश्यकता हो ।













