धनगढी । थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सखिया नाच दशैंको अवसरमा कैलालीको धनगढीमा विशेष रूपमा प्रदर्शन गरिने भएको छ ।
डस्या विशेष सामूहिक सखिया नाच प्रदर्शनी-२०८३ मूल आयोजक समितिले यही असोज २१ गते धनगढी उपमहानगरपालिकाको परिसरमा विशेष सखिया नाच प्रदर्शन गर्न लागेको हो ।
कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक सानू चौधरीले सखिया नाचको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिइन् ।
कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवाहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा, परम्परा र सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा रहँदै आएको उनले बताइन ।
परम्परागत रूपमा अष्टिम्की पर्वदेखि सुरु भएर दशैं हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच प्रदर्शन गर्ने चलन रहेकोमा पछिल्लो समय शिक्षा, रोजगारी, वैदेशिक पलायन र बदलिँदो सामाजिक परिवेशका कारण यो परम्परा क्रमशः छोटिँदै र सीमित हुँदै गएको आयोजकले जनाएको छ।
यस्तो अवस्थामा मौलिक संस्कृति नयाँ पुस्तासम्म पुर्याउने, युवायुवतीलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने तथा सखिया नाचको संरक्षण र पुस्तान्तरणका लागि सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले एकदिने विशेष कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा थारू समुदायका कलाकार, युवायुवती, संस्कृतिकर्मी तथा संस्कृति संरक्षणमा रुचि राख्ने विभिन्न सरोकारवालाको सहभागिता आयोजकले जनाएको छ ।
आयोजकले कार्यक्रमलाई केवल नृत्य प्रदर्शनका रूपमा नभई थारू समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानका रूपमा लिएको जनाएको छ।














