धनगढी- कैलालीमा ४५ जना मिटरब्याज पीडितको निवेदन सङ्कलन भएको छ। जिल्ला प्रशासन कार्यालयमा स्थापना भएको मिटरब्याज पीडित सहायता कक्षमार्फत आजसम्म ४५ जनाले निवेदन दिएका हुन्। उनीहरूको निवेदन अनलाइन इन्ट्री भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ ले पीडितबाट निवेदन माग गरेपछि प्रशासनले सहायता कक्ष स्थापना गरेर निवेदन सङ्कलन गरिरहेको छ। वैशाख १७ देखि सुरु भएको निवेदन सङ्कलनको कार्य आउँदो ३१ गतेसम्म सञ्चालन हुनेछ।
सहायता कक्ष स्थापना गरेर निवेदन सङ्कलनको कार्य थाले पनि अहिलेसम्म धेरै पीडितहरू नआएको जोशीले बताए । “पीडितहरूले सूचना नपाएका हुन कि, के कारणले हो, अहिलेसम्म धेरै निवेदन परेको छैन”, उनले भने,“मैले सबै स्थानीय तहमा पत्रका साथै पटक–पटक सूचना पठाउँदा पनि पीडित आएका छैनन्।”
उनले यसअघि उजुरी दिएकाहरू पनि निवेदन लिएर नआएको बताए। केही महिना अगाडि प्रशासनले उजुरी माग गर्दा ९५ जना पीडितले प्रशासनमा उजुरी दिएका थिए। पीडित नआएपछि एक जना प्रहरीलाई नै व्यक्तिगत रूपमा पीडितलाई फोन गर्ने कार्यमा खटाएको सूचना अधिकारी जोशीले बताए ।













