धनगढी- वर्षासँगै कैलालको धनगढी उपमहानगरपालिकाका केही भित्री सडकहरू हिलाम्मे भएपछि आवतजावतमा समस्या भएको छ । हिलोसँगै खाल्डाखुल्डी पनि परेपछि आवतजावतमा समस्या भएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ को शिवमन्दिरदेखि त्रिवेणी चोक हुँदै त्रिवेणीघाटसम्म जाने सडक वर्षाले गर्दा हिलाम्मे भएको र आवतजावत गर्न सारै समस्या भएको स्थानीयले बताएका छन् ।
हिउँदमा धुलो र बर्खामा हिलो हुनाले हिँडडुल गर्न सारै नै समस्या भएको धनगढी १ का स्थानीय डबलबहादुर खातीले बताए । पानी पर्दा त्यो बाटो हिँड्नै सकिने अवस्थामा नहुने उनले बताए ।
‘चुनावका बेला नेताहरूले चुनावी एजेन्डा बनाएर भोट मागे’ उनले भने, ‘अहिले आएर बाटो जस्ताको त्यस्तै अलपत्र अवस्थामा छ । चुनाव जितेकाले चासो दिनै छोडे ।’
अहिले बाटोमा गिट्टी र बालुवा फालेको र खाल्डाखुल्डीसमेत हुँदा सवारी साधन र पैदल यात्रुलाई समस्या भएको उनले बताए । वडाका वडाध्यक्ष र मेयरलाई समेत यस विषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले अहिले खोलानाला बन्द भएकाले ग्राभेल हाल्न नसकिएको बताए । नगरपालिकाले जम्मा गरेको ग्राभेल कम रहेको र माग बढी भएकाले थप हाल्न नसकिएको उनले बताए । उनले यसअघि त्यस ठाउँमा ग्राभेल हालेको दाबीसमेत गरे ।
त्यो बाटोको टेन्डर भएको र प्रदेश सरकारले पनि त्यस बाटोका लागि बजेट विनियोजन गरेको हुँदा अब छिटै त्यो बाटो बन्ने उनले बताए । अहिले नाली बन्न सुरु भएकाले बाटो हिलाम्मे भएको उनको भनाइ छ ।















