धनगढी- धनगढीको मेरी स्टोप सामुदायिक क्लिनिकका सञ्चालक पक्राउ परेका छन् । क्लिनिकका सञ्चालक गोदावरी नगरपालिका–२ बस्ने २५ बर्षिय विनोद जोशीलाई प्रहरीले पक्राउ गरेको हो । गर्भपतन गराउन सो क्लिनिक पुगेकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की प्रीति थापाको मृत्युपछि फरार भएका सञ्चालक जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।मेरी स्टोप सामुदायिक क्लिनिकबाटगर्भपतन गराउने औषधि खाँदा अत्यधिक रक्तस्राव भएर उनको मृत्यु भएको आफन्तहरूले बताएका छन् ।
प्रहरीका अनुसार थापाले बिहीबार बिहान मेरी स्टोप सामुदायिक क्लिनिकबाट किनेर गर्भपतन गराउने औषधि खाएको थियो । औषधि खाएपछि रक्तस्राव भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।
मृतकका आफन्तले क्लिनिकले जथाभाबी औषधि दिएपछि महिलाको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरू मृतक प्रीतिलाई न्याय माग्दै आन्दोलनमा उत्रिएका छन्, भने क्षतिपूर्तिको माग समेत गरिरहेका छन् ।













