धनगढी- राष्ट्रिय मुक्त हलिया समाज महासंघले नेपालले १५ औँ हलिया मुक्ति दिवस मनाएको छ । बिहीबार कैलालीको धनगढीमा एक कार्यक्रमकाबीच महासंघले मुक्ति दिवस मनाएको हो । महासंघले ‘सबै खाले कुप्रथा र विभेद विरुद्ध,हाम्रो अभियान,मुक्त हलियाको पूर्ण पुनःस्थापना,दीगो समाधान भन्ने मुल नाराका साथ मुक्ति दिवस मनाएको छ ।
महासंघको १२ औँ साधारण सभा तथा १५ औँ हलिया मुक्ती दिवसको उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका भुमि,व्यवस्था,कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले बाँकी मुक्त हलियाको पुनःस्थापनाका लागि प्रदेश सरकारले सक्दो सहयो गर्ने बताए ।
उनले भने ‘पीछडिएको समाजलाई प्रयो गर्ने र फाल्ने प्रबृति रहेको छ,प्रदेश सरकार शोषण,दमनमा परेका जनताको पक्षमा छ,साथ सहयोग गछौँ’ । मुक्त हलिया,कमैया,कमलरीको पुनःस्थापनाका लागि ऐन ल्याउनु पर्ने उनले बताए । उनले भने ‘मुक्त हलिया,कमैया,कमलरीको समस्या समाधानका लागि ऐन ल्याउनु पर्छ,ऐनले सजिलो हुन्छ हामी त्यही पक्षमा छौँ ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य हरि श्रीपाइलीले संघ,प्रदेश सरकार दलित,मधेशी,थारु लगायतका पिछडिएका समुदायको पक्षमा नरहेको बताए । उनले मुक्त हलियाको न्यायिक पुनःस्थापनाका लागि आन्दोलनको विकल्प नरहेको बताए । सजिलैसँग कुनै पनि सरकारले मुक्त हलियाका कुरा नसुन्ने बताउँदै उनले आन्दोलनमा जानु पर्ने समय आएको बताए ।
प्रदेशसभा सदस्य हिरा सार्कीले मुक्त हलियाको पुनःस्थापना गर्दा एकीकृत बस्ती विकासका तरिकाले गर्नु पर्नेमा आफ्नो जोड रहेको बताए । उनले भने ‘पुनःस्थापना गर्दा सडक,खानेपानी,विजुली बत्ती सबै सुविधा हुने गरी एकीकृत बस्ती विकासका तरिकाले गर्नु पर्नेमा मेरो जोड छ’ । उनले न्यायोचित पुनःस्थापना हुनु पर्ने पनि बताए ।
महासंघका महासचिव मंगलबहादुर सार्कीले सञ्चालन तथा महासंघका अध्यक्ष ईश्वर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रमुख हरिप्रसाद ज्ञवाली, इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख खडकराज जोशी,बरिष्ठ पत्रकार मनमोहन स्वाँर,राष्ट्रि दलित नेटवर्कका महासचिव मोहन वडलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य गोरख सार्कीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम इएबीएल परियोजना अन्तरगत एक्सन एड इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा गरिएको महासंघले जनाएको छ। कार्यक्रमको बीचमा महासंघका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलियाको पुःस्थापनाको वर्तमान अवस्थाको बिषयमा आधार पत्र प्रस्तुत गरेका थिए ।















