धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहका पिता मङ्गलबहादुर शाहले सात लाख रुपियाँको अक्षयकोष स्थापना गरेका छन् । सेवानिवृत वरिष्ठ प्रहरी उपरीक्षकसमेत रहनुभएका शाहले आफ्नो ८४औँ जन्मदिनको अवसर पारेर सात लाख रुपियाँको मङ्गल चन्द्रा शान्ति अक्षयकोष स्थापना गरेका हुन् ।
उनले आफ्नो जन्मभूमि अछामको रामारोशन गाउँपालिका–५ मा रहेको यशोदा उच्च माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि अक्षयकोष स्थापना गरेको जनाइएको छ ।
विद्यालयमा अध्ययनरत अति जेहेन्दार, दुःखी र निम्न आय भएका विद्यार्थीको उज्ज्वल भविष्यका लागि आफूले अक्षयकोष स्थापना गरेको शाहले बताए ।
घोषणा कार्यक्रममा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकासमन्त्री झपटबहादुर साउद, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउद लगायतको उपस्थिति रहेको थियो ।














