धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको बेहडाबाबा मन्दिर परिसदमा महाशिवरात्रिको अवसरमा दीप प्रज्वलन हुने भएको छ । आयोजक बेहडाबाबा फाउण्डेशन नेपाल धनगढीले बिहीबार मन्दिर परिर्षदमा पत्रकार सम्मेलनको आयोजना गर्दै फागुन २५ गते सामूहिक दीप प्रज्वलन हुने जानकारी दिएको हो ।
आयोजक बेहडाबाबा फाउण्डेशन नेपालका संयोजक पदमराज जोशीले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक हुन गइरहेको यो अभुतपर्व देव दुर्लभ महायत्नको कर्ता हुन पाउनु खुशीको करा भएको बताए । उनले दुई करोड २५ लाख दीप प्रज्वलनको सम्पूर्ण जिम्मा आयोजकले लिने जानकारी दिए ।
त्यस्तै संयोजक जोशीले व्यक्तिगत रूपमा कसैले सवा एक लाख बत्ती, तेल आदिका लागी सात हजार एक सय रुपैयाँ नगद भुक्तानी गर्ने सकिने व्यवस्था समेत रहेको बताए ।
सात हजार एक सय भुक्तानी गर्दा व्यवस्थापन सक्तीले सवा लाख बत्ती, चाँदीको दियो, सुनको बत्ती, बत्ती बाल्ने तिलको तेल र बत्ती जलाउने सबै व्यवस्था गरिदिने प्रमुख आर्चाय मनिराज जोशीले जानकारी दिए ।
राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा छुटै पहिचान एव महिमा मण्डित भएको भगवान् भोलेनाथ बेहडाबाबा मन्दिरमा इीतहासमै पहिलो पटक सपादद्धयकोटिबर्तिका दीप प्रज्वलन हुनु उत्तम रहेको उनले बताए ।














