भानुभक्त आचार्य- पत्रकारितामार्फत् बिनाआधार कसैको हुर्मत लिने काम हैरानी हो । यो दण्डनीय अपराध हो । तर, पत्रकारितामार्फत् पत्रकारिताकै हुर्मत लिने अपराध भइरहेको छ विभिन्न आवरणमा । यसले गर्दा पत्रकार भन्ने बित्तिकै मानिसले नाक खुम्च्याउनु पर्ने, कतिपयले बिनाकारण अपमान खेप्नु पर्ने, रिपोर्टिङमा गएका बेला कुटाइ खानुपर्ने लगायतका अपराध भइरहेका छन् । भर्खरैका दुई घटनालाई मैले सप्रमाण यहाँ उल्लेख गर्न चाहन्छु ।
१. धरानबाट प्रकाशित ब्लास्ट दैनिक पूर्वको कान्तिपुर हो । किशोर कार्की हामी सबैले जानेका, अनुभवी पत्रकार एवम् पत्रकारिताका अध्यापक समेत हुनुहुन्छ । पत्रकारिता र राजनीति सँगसँग गर्नु हुन्न भन्ने उहाँलाई राम्ररी थाहा छ । तर, के आशयले उहाँ सम्पादक भएकै अखबारमा सम्पादकजी फलानो पार्टीमा भन्ने समाचार हालियो, त्यो बुझिनसक्नु छ । मानौं, पत्रकारले राजनीति गर्नु भनेको सर्वस्वीकार्य गतिविधि हो र यसमा कसैले औंला उठाउनु हुन्न । राजनीति आफैंमा खराब विषय होइन र व्यक्ति आफूले रोजेको राजनीतिमा आस्था राख्न स्वतन्त्र छ । तर सम्पादक फलानो अमुक दलमा प्रवेश भनेर सामान्यीकरण गर्ने जुन प्रयास गरिएको छ, त्यो पत्रकारिता माथिको हैरानी हो । यो गलत छ ।
२. काठमाडौंबाट प्रकाशित जनआस्था साप्ताहिकबारे थाहा नहुने कमै होलान् । श्रीषा कार्की प्रकरणदेखि यस्ता अनेक घटनाक्रमहरूमा यो जोडिएको छ र यसले प्रेस काउन्सिलमा सबैभन्दा बढी उजुरी खेप्ने अखबारको रेकर्ड कायम गरेको छ । प्रेस काउन्सिल नेपालको सदस्य हुँदै कार्यबाहक अध्यक्षको समेत भूमिकामा रहेर अहिलेको आचारसंहिताको डिजाइनर समेत भन्दा फरक पर्दैन किशोर श्रेष्ठजीलाई । विश्व प्रेस काउन्सिलको महासचिव र उपाध्यक्ष समेत भइरहेका मान्छे सम्पादक रहेको यो अखबारमा यस्ता अश्लील पोस्ट छापिएलान भन्ने हामीले कल्पना समेत गर्न सक्दैनौं । तर भइरहेछ । यसले समग्र पत्रकारिता पेसाको हुर्मत लिएको छ । “‘जनआस्था साप्ताहिक’ले बनाएको पत्रकारिताको अर्को लज्जास्पद उदाहरण”बारे पत्रकार रविराज बरालको टिप्पणी पढ्नुहोला ।
कुनै अखबार वा पत्रकारले अन्जानका गल्ती त्रुटि गर्ने कुरा सामान्य हो । त्यसलाई सच्याएर अघि बढ्न सकिन्छ । पत्रकारितामा त्यो एउटा सनातन परम्परा नै हो । तर, पत्रकारले पत्रकारितामार्फत् जानाजान पत्रकारिताकै हुर्मत लिने काम अक्षम्य छ । यसलाई यथाशीघ्र रोक्नुपर्छ । अति सर्वत्र वर्जयेत् ।














