बाजुरा- सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार नपाएपछि मर्कामा परेका हुन् । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका –९ पैमाका धनराज पाध्यायले बताए ।
उनले भने, “सुन्तला बिक्री गरेर घरखर्च जोहो गर्ने भनेका थियौँ । तर अहिलेसम्म सुन्तला बिक्री नहुँदा अब कसरी घरखर्च चलाउने भन्ने चिन्ता परेको छ ।’’
सात सय भन्दाबढी रोपनीमा सुन्तला खेती गरेको सुनाउनुहुँदै पाध्यायले भने, ‘‘सुन्तला राम्रोसँग पनि फल्यो । तर अहिले बिक्री नहुँदा समस्या भएको छ ।’’
कृषि ज्ञान केन्द्रको पहलमा पाध्यायले सुन्तला खेती गरेका हुन् । उनले सधैँ गहुँ, धान र कोदो लगाउने जमिनमा सुन्तला खेती गर्न सुरु गरेका थिए । अहिले सुन्तला बिक्री नहुँदा बारीमै कुहिने चिन्ताले सताएको गुनासो उनले गरे ।













