धनगढी- कैलालीको मोहन्याल गाउँपालिकाको एक विद्यालयमा बालबिकासमा कार्यरत शिक्षिकाले आफ्नै सहकर्मी शिक्षिकाको औँला दाँतले टोकिदिएकी छिन् । मोहन्याल गाउँपालिका वडा नम्बर ७ कुहिनेस्थित अरनिको आधारभूत विद्यालयमा कार्यरत शिक्षिकाबीच कुटाकुट हुँदा औँला टोकिएको हो ।
प्राथमिक विद्यालयमा स्थायी दरबन्दीमा कार्यरत शिक्षिका देवकी जोशी र वालबिकासमा कार्यरत शिक्षिका रिता बिष्टबीच झगडा भएको थियो । झगडाकै बीच शिक्षिका जोशीको औँला बिष्टले टोकिदिएकी थिइन् ।
माघ २६ गते शुक्रबार विद्यालय समयमा दुवै शिक्षिकाबीच झगडा भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले बताए । बालविकासमा कार्यरत शिक्षिका बिष्टले आफ्नो औँला टोकेको शिक्षिका देवकी जोशीले बताएकी छन् ।
जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रधानाध्यापकलाई जानकारी गराई धनगढीस्थित घरमा बसेको बताएकी छन् । विद्यालय व्यबस्थापन समितिले दुबै पक्षलाई छलफल गराई बिवाद मिलाउन माघ २९ गते बैठक राखिए पनि उक्त बैठकमा दुवै पक्ष अनुउपस्थित रहेको समितिकी अध्यक्ष हस्तनाकुमारी माझीले बताएकी छन् ।















