धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका- १६ घर भएकी पूजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको हो ।
घटनामा घरबेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लिएको कैलालीका डीएसपी तथा प्रवक्ता कुलदिप चन्दले बताए ।
राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका चन्दले बताए । उनका अनुसार कोठामा बस्दै गरेकी शिशुकी आमा रानाको खोजी भइरहेको छ ।
प्रहरीले नियन्त्रणमा लिएका महिलाहरू र रानाबीच पैसा लेनदेन रहेको बताइएको छ । डीएसपी चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेका थिए । सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नियन्त्रणमा लिइएका महिलाले राना कहाँ छिन् भन्ने जानकारी नभएको बताएका छन् । प्रहरीले मृत फेला परेको नवजात शिशुको पोष्टमार्टम गर्न सेती प्रादेशिक अस्पताल राखेको छ । नवजात शिशु कति दिनको हो भन्नेबारे सोही रिपोर्ट पछि थाहा हुने प्रवक्ता चन्दले बताए ।















