धनगढी- प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत चालु आवमा धनगढी उपमहानगरपालिकाका एक सय २० जनाले रोजगारी पाएका छन् । उपमहानगरपालिकाका १९ वटै वडाका उक्त संख्याका ब्यक्तिहरुले रोजगारी पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत उपमहानगरपालिकामा १८ वटा योजना सञ्चालनमा रहेको रोजगार सहायक महेश मल्लले जानकारी दिए । कार्यक्रम अन्तरगत पक्की नाली निर्माण,खानेपानीको पाइप विस्तार,पर्यटन प्रबद्र्धनका लागि पार्कसेट निर्माण,बृक्षारोपण,सामुदायिक भवन निर्माणलगायतका कामहरु गरिँदै आएको उनले बताए ।
चालु आवमा रोजगारीका लागि एक हजार एक सय ९५ जनाले आवेदन दिएको उनले बताए । रोजगार कार्यक्रममा छनोट भएकालाई अधिकतम एक सय दिनको रोजगारी दिने गरिएको र प्रति दिन ६ सय ८० रुपैया ज्याला दिने गरिएको उनको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि चालु आवमा विश्व बैंकबाट २२ लाख ९९ हजार र नेपाल सरकारबाट २६ लाख ७४ हजार बजेट प्राप्त भएको उनले बताए ।
कार्यक्रममा पिछडिएका,एकल महिला,कुनै पनि रोजगारी नभएका परिवारका सदस्यलाई प्राथमिता दिने गरिएको रोजगार सहायक मल्लले बताए । बेरोजगारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम एकदमै प्रभावकारी भएको उनको दाबी छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विभिन्न दातृनिकायको सहयोगमा सीपमूलक तालिमसमेत दिने गरिएको उनले बताए । नेपाल युथ फाउण्डेशनको सहकार्यमा ५२ जनालाई प्लम्बर र इलेक्टिसयनको तालिम दिइएको उनले बताए । त्यस्तै ४० जनालाई फर्निचर र वल्डिङको तालिम दिइएको उनको भनाइ छ ।














