कैलाली-चुरे गाउँपालिकाको जनजाती बिशेष कार्यक्रम अन्तरगत अनुदान पाएका बाख्रापालक कृषकलाई घरखर्च चलाउन सहज हुन थालेको छ । सो कार्यक्रम मार्फत गतबर्ष गाउँपालिकाले वडा नं.२ का निम्न आयस्रोत भएका २० जना कृषकलाई ४० बाख्रा वितरण गरेको थियो ।
वितरण गरिएका बाख्राबाट कृषकलाई घरखर्च चलाउन सहज भएको पशु सेवा शाखा प्रमुख धर्मराज भट्टले जानकारी दिए । वडा नं २ का स्थानीय कृषक देवीसरा लामीछानेले गाउँपालिकाले दिएका बाख्राबाट आफूलाई बालबालिका पढाउन र घर खर्च चलाउन सहज भएको बताइन् । केही बाख्रा आफू बिरामी हुँदा उपचारका लागि बेचेको उनले बताइन । बेचेको रकमले उपचार गर्न सहज भएको उनले बताइन् । बाख्रापालनबाट साह्रो गाह्रो सहजै टार्न सकिने उनको भनाइ छ । उनले बिरामीका कारण सोचे जति काम गर्न नसकेको बताइन । अर्का कृषक चम्फादेवी दर्लामीले केही बर्षदेखि बाख्राबाट घरखर्च चलाउन सहज भएको बताइन् ।
चुरे गाउँपालिकाको पशु सेवा शाखाबाट चालु आर्थिक बर्षमा बिपन्न घर परिवारका लागि खरी जातका बाख्रा वितरण गरेको पशु सेवा शाखा प्रमुख भट्टले निशाना न्युजलाइ जानकारी दिए । जनजाती विशेष कार्यक्रम अन्तरगत निम्न आयस्रोत भएका र बाढीपीडित परिवारलाई प्राथामिकतामा राखेर बाख्रा वितरण गरिएको उनले बताए ।
वडा नं ५ मा बाढीपीडित घरपरिवारलाई १२ , वडा नं ३ मा ५०, वडा नं ४ मा १४,वडा नं ६ मा २६ बाख्रा वितरण गरिएको उनले बताए । सबै विपन्न घरपरिवारका लागि प्रति घर परिवारलाई एक बाख्रा वितरण गरिएको उनले बताए । त्यस्तै वडा नं ३ मा अपाङ्गता भएका १० परिवारलाई १० बाख्रा वितरण गरिएको उनको भनाई छ ।
वडा नं ५ मा ५० प्रतिशत प्रदेश सरकारको सशर्त अनुदानबाट करिब ५ लाखमा १० खोर निर्माण गरिएको छ । खोर सुधार कार्यक्रम अन्तरगत खोर निर्माण गरिएका हुन् । गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ८ लाखमा १६ वटा डिपिङ्ग टंकी निर्माण गरिएको उनले बताए ।
गाउँपालिकाले वडामा निम्न आयस्रोत भएकाको लगत लिएर मात्र बाख्रा वितरण गरिएको भट्टले बताए ।














