धनगढी–कैलालीको कैलारी गाउँपालिकाले गत आर्थिक बर्ष २०८१–०८२ मा एक सय २७ योजना कार्यान्वयन गरेको छ । गाउँपालिकाले ती योजनामा १७ करोेड ४० लाख ५३ हजार ९३८ रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
गत आवमा अनुमानित रु २६ करोड ७६ लाख २५ हजार २३६ का योजनाको काममा १५ शैयाको अस्पतालको ९० प्रतिशत काम निर्माण सम्पन्न भएको छ । १० प्रतिशत काम बाँकी रहँदा केही रकम निकासा हुन बाँकी रहेको गाउपालिकाका अध्यक्ष राम समझ चौधरीले निशाना न्युजलाई जानकारी दिए ।
भौतिक पूर्वाधार अन्र्तगतका योजनामा स्कुलको भान्सा घर २०, कैलारी गाउपालिका–सर्पोस नेपालको साझेदारी र प्रधानमन्त्री स्वरोजगार अन्र्तगतका १० योजना सम्पन्न भएको उनले वताए ।
समपुरक २ वटा योजना सम्पन्न भएका छन् भने त्यस्तै २.२ किलोमिटर सडक पिच, १५ सैयाको अस्पताल निर्माण, वडा नं २,३,७,८ मा सडक स्तरन्नोति, ९ वटै वडाका सडक ग्राभेलका काम सम्पन्न भएका छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेटबाट ५ योजना, ४ वटा स्कुलको पर्खाल र एक खेल मैदान सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिए । मन्दिर निर्माण,साईकल स्टेन्ड,देवथान,माटो कटानी रोकथाम र चर्च निर्माण,जैविक तटबन्धन,भौतिक तटबन्धन, सुरक्षित भवन, होमपाईप र कल्भटका काम सम्पन्न भएको उनले वताए ।














