धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा धनगढीमा आयोजित स्वास्थ्य पत्रकारिता सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री खड्काले विभिन्न क्षेत्रमा भएका समस्याको उजागर गर्ने,आवाज विहीनको आवजलाई अगाडि ल्याउने दायित्व पत्रकारिता क्षेत्रको भएको बताए ।
उनले पत्रकारले कलम चलाउँदा,सार्वजनिक व्यक्तिले बोल्दा त्यसले समाजमा पार्ने असरलाई ध्यान दिनुपर्ने समेत उल्लेख गरे । उनले भने ‘स्वास्थ्य क्षेत्र झन सम्वेदनशील भएकाले यसमा कलम चलाउँदा अझै ध्यान दिनुपर्ने हुन्छ ।’
प्रदेश स्वास्थ्य निर्देशनालय डोटीको सहयोगमा सञ्चालित अभिमुखिकरण कार्यक्रम शनिबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । कार्यक्रममा प्रदेशका नौ वटै जिल्लाका सहभागिको सहभागिता रहेको छ ।














