काठमाडौं । प्रहरीले राजा फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा मच्चाएर फरार दुर्गा प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई काठमाडौं ल्याइएको छ । उनीहरूलाई भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमा काठमाडौं ल्याइएको हो ।
प्रहरीका अनुसार प्रसाईं र उनका अंगरक्षक खड्कालाई भद्रपुरबाट पक्राउ गरेर बुद्ध एयरको जहाजमार्फत् काठमाडौं ल्याइयो ।
उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा आयोजना गरेको आमसभा हिंसात्मक बन्दा दुईजनाले ज्यान गुमाएका थिए ।
राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन परिचालन समितिले प्रसाईंलाई उक्त प्रदर्शनमा जनकमाण्डर बनाएर पठाएको थियो । चैत १४ गते निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेपछि प्रसाईं जोशिएका थिए ।













