धनगढी । धनगढी उपमहानगरपालिकामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ ।
खोप अभियानमा सरिक हुँदै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पुगेर जेईविरुद्धको खोप लगाएका छन् ।
उनले अभियानमा सहभागी भई लक्षित उमेर समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह समेत गरेका छन् ।

जेई संक्रमणको जोखिम बढेपछि उपमहानगरपालिकाका १९ वटै वडामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन गरिएको हो । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई जेईविरुद्धको खोप लगाइनेछ ।
उपमहानगरपालिकाले लक्षित उमेर समूहका १ लाख ३ हजार नागरिकलाई खोप लगाउने लक्ष्य राखेको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
उनका अनुसार धनगढीमा हालसम्म जेई संक्रमणका तीन जना बिरामी फेला परेका छन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अभियान सञ्चालन गरिएको अवस्थीले बताए ।
अभियानका लागि धनगढीका १९ वटै वडामा १२४ वटा खोप केन्द्र स्थापना गरिएको छ ।
















