धनगढी । जेसीआई धनगढी लेडी जेसीजले विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमसहित जेसीज सप्ताह–२०२६ सफलतापूर्वक सम्पन्न गरेको छ।
धनगढी लेडी जेसीज वर्ष २०२६ की अध्यक्ष जेसी पार्वती भट्ट जोशीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि निवर्तमान उपमेयर सुशीला मिश्र भट्ट तथा विशिष्ट अतिथि धनगढी जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी महेश्वर ओझा रहेका थिए। कार्यक्रममा धनगढी लेडी जेसीजका पूर्वअध्यक्षहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो।
धनगढी लेडी जेसीजले यस वर्ष “Grow Yourself, Guide Others, Greatness Follows” भन्ने मूल थिममा सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
सप्ताहको पहिलो दिन जेसीआई नेपालको स्थापना दिवसको अवसरमा मिसन–भिजनसम्बन्धी अन्तरक्रिया गरिएको थियो। दोस्रो दिन राष्ट्रिय तुलसीराम माध्यमिक विद्यालयमा लागू पदार्थ दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको थियो।
त्यस्तै, तेस्रो दिन संविधान दिवसको अवसरमा दीप प्रज्वलन, चौथो दिन शिवपुरीधाम मन्दिरको हलमा लैङ्गिक हिंसासम्बन्धी कार्यक्रम, पाँचौँ दिन विद्यालयमा विपद् जोखिम न्यूनीकरण तथा प्राथमिक उपचारसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो।
छैटौँ दिन दृष्टि फाउन्डेसनमा कपडा वितरण कार्यक्रम गरिएको थियो भने अन्तिम दिन समापन, पुरस्कार वितरण तथा प्रकरण गोष्ठी आयोजना गरिएको थियो।
समापन कार्यक्रममा थिम सेमिनारका वक्ता, नेपाल रेडक्रस सोसाइटी, मूल संयोजक, सहसंयोजक तथा विभिन्न दिनका संयोजकहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको थियो।
अध्यक्ष पार्वती भट्ट जोशीले जेसीज सप्ताह सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरिएको बताइन्।
सामाजिक उत्तरदायित्व, नेतृत्व विकास र जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिँदै जेसीआई धनगढी लेडी जेसीजले सप्ताहभर विभिन्न कार्यक्रम सञ्चालन गरेको हो।















