धनगढी । कैलालीमा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान अन्तर्गत हालसम्म ७८ हजार ११० जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय कैलालीको असोज १० गतेको दैनिक प्रतिवेदनअनुसार जिल्लामा आज मात्रै ६ हजार ५५६ जनाले जेई खोप लगाएका छन्।
आज खोप लगाउनेमा २ हजार ५६३ पुरुष र ३ हजार ९९३ महिला रहेका छन्।
जिल्लाको कुल लक्षित जनसंख्या १ लाख ७६ हजार ३४४ रहेकोमा हालसम्म ४४.२९ प्रतिशतले खोप लगाइसकेकाे स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले निशाना न्युजलाई जानकारी दिए।
उनले घोडाघोडी र लम्कीचुहा नगरपालिकामा छुटेका व्यक्तिहरूलाई जेई खोप लगाउने कामलाई पनि निरन्तरता दिएको बताए ।
स्थानीय तहअनुसार हालसम्मको खोप कभरेज घोडाघोडी नगरपालिकामा ८७.१२ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा २०.७७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
कैलालीमा जेई संक्रमणको जोखिमलाई ध्यानमा राखी ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो।















