धनगढी -कञ्चनपुरको दक्षिण क्षेत्रका विभिन्न ठाउँमा बाघ देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । भारतसँग सीमा जोडिएका पुनर्वास र बेलौरीका सीमावर्ती बस्ती छेउछाउमा बाघ देखिन थालेको हो ।
केही दिन पहिले सीमा क्षेत्रमै बाघको आक्रमणमा परी एक नेपाली र एक भारतीय महिलाको मृत्यु भएपछि स्थानीय त्रसित बनेका छन् । गत चैत १० गते भारतको दुधुवा नेशनल पार्कमा मेलापात गर्न गएकी पुनर्वास नगरपालिका– १० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीयहरुले ट्याक्टरको हर्न बजाएर बाघ धपाउने प्रयास गरेका छन्। बाघ गाउँमा पस्न नदिन स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन्। पुनर्वास नगरपालिका– ४ शहिद गौतम चौक, पुनर्वास नगरपालिका–१० भिमबस्ती, बसहिया, पिलर नं. २०२, २०३, २०४ क्षेत्र, भारतीय गाउँ, कृष्णनगर, खजुरिया र बेलौरी–कलकत्ता सडकमा बाघ देखिएको थियो।
बाघको त्रास बढेपछि कुण्डा सब डिभिजन वन कार्यालय पच्कडिया कञ्चनपुरको टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीय युवाहरूको टोलीले सीमा क्षेत्रमा निगरानी समेत बढाएको छ।पछिल्लो समयमा पोथी बाघले भाले बाघबाट आफ्ना डमरुलाई बचाउन तथा हुर्काउन नेपालतर्फको लालझाडी मोहना करिडोरमा आएको सब डिभिजन वन कार्यलय पचकडिया प्रमुख दिनेशकुमार यादव बताए ।














