काठमाडौं- सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरुपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । “दिउँसो ३ घण्टा सर्भर पूर्णरुपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकैपटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उनले भने ।
उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाईनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए । रासस













