बझाङ- बझाङको थलारा गाउँपालिका–१ रेगम र केदारस्युँ गाउँपालिका–१ देउरा बजार जोड्ने सेती नदीमाथिको पुल बनाएको जस लिन नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रबीच जुहारी चलेको छ।
दुबै पार्टीका नेता कार्यकर्ताले आ–आफ्नो पहलमा गरेको भनेर जस लिन खोज्दा जुहारी चलेको हो। समाजवादीका नेता कार्यकर्ताले आफ्नो पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य भानुभक्त जोशीको विशेष पहलमा मोटरेबल पुल निर्माण शुरु भएको बताइरहेका छन्।
माओवादीका नेता कार्यकर्ताले सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारीको पहलमा पुल निर्माण थालनी भएको दाबी गरेका छन्।समाजवादीका नेता कार्यकर्ताले जोशीलाई पुल निर्माणका लागि पहल गरेको भनेर धन्यवाद दिइरहेका छन्। यसैगरी माओवादीका नेता कार्यकर्ताले प्रदेश सभामुख भण्डारीलाई धन्यवाद दिइरहेका छन्।
अहिले पुलको डिपिआरका लागि माटो परीक्षण भइरहेको छ। प्रतिनिधिसभा सदस्य जोशी संघीय संसद्मा निदाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको विषयलाई ढाकछोप गर्न उक्त विषय उठाएको माओवादीले आरोप लगाएको छ।
समाजवादीले भने केन्द्रको योजना भएकाले प्रतिनिधिसभा सदस्य जोशीले पहल गरेको जिकिर गरेको छ। २०७८ सालमा सेती नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको थियो। पुल बगाएपछि बझाङको थलारा गाउँपालिका–१ का बासिन्दा र डोटीको छपालीका बासिन्दा समस्यामा परेका छन्।














