काठमाडौं- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमा विभेद भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयगत छलफलमाथि भाग लिँदै सांसद केसीले यो बजेटमाथि टिकाटिप्पणी गर्नु टाउको दुखाइको विषय मात्रै हुने बताए।
सांसद केसीले ५१ प्रतिशत बजेट तीनजनाले आफ्नो भागमा पारेको बताए। कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा।प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५१ प्रतिशत बजेट आफ्नो भागमा पारेको उनको आरोप छ।
बजेट कटौती गर्ने हो भने गोरखा,नुवाकोट र डडेलधुराको बजेट कटौती गर्नुपर्ने उनको सुझाव छ। आर्थिक वर्ष २०८०/०८१ को बजेटमा यी तीन जिल्लामा सबैभन्दा बढि बजेट छुट्याएको भन्दै केसीले यीनै जिल्लाबाट खर्च कटौतीको सुरूवात गर्न माग गरे। सांसद केसीले बजेटमै विभेद गर्दा मुलुकमा सन्तुलित विकास नहुने बताए।
उनले बागलुङमा बजेट नपरेको भन्दै आक्रोश पोखे। ‘जसको हात जगन्नाथ भएपछि बजेटको के कुरा गर्नु। यसपाली बागलुङमा बजेट परेन। काठेखोल गाउँपालिका त रित्तै छ।’ बजेट निर्माणका क्रममा सांसदहरू सदन रित्याएर मन्त्रालय धाउने गरेको उनको आरोप छ।













