धनगढी- कैलाली कारागारभित्र देखिएका बेथिति र घोटालाका विषयमा छानबिन सुरु गरिएको छ। कारागारभित्रै कुटाकुट, भित्रै ड्रग्स, मदिरा लगायतको कारोबार र घुस प्रकरणलाई मिडियाले उजागर गरेको थियो।
सो घटनापछि कारागार व्यवस्थापन विभागले कारागार प्रशासन लगायत कर्मचारीमाथि आन्तरिक छानबिन थालिएको जनाएको छ। विभागका निर्देशक तथा प्रवक्ता कमलप्रसाद पाण्डेले कैलालीका सिडिओसित समन्वय गरेर छानबिन गरिरहेको बताए।
विभाग स्रोतका अनुसार कारागार व्यवस्थापन विभागले आन्तरिक छानबिन सकेर कैलाली पुगेरै स्थलगत अनुगमन गरी थप कारबाही प्रक्रिया अगाडि बढाइनेछ। कैलाली कारागारमा वर्षौंदेखि खुलेआम भित्रै कैदीहरुले लागुऔषध सेवन तथा कारोबार गर्दै आएका छन्।
अस्ती जेठ २२ गते कारागारभित्रै कुटाकुटसमेत भएको थियो। उक्त घटनापछि कारागार केही प्रहरीका अधिकारी र डेढ दर्जन बढी कैदीहरुको सरुवा गरिएको थियो। कारागार प्रशासन, जेलर र प्रहरीकै लापरबाही र मिलोमतोका कारण कारागारमा बेथिति मौलाएको बताइएको छ।















