धनगढी- सुदूरपश्चिमका वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् पद्मराज जोशी प्रभातलाई दीनबन्धु गोयल प्रतिभा पुरस्कारबाट सम्मान गरिने भएको छ । लामो समयदेखि धनगढीमा रहेर साहित्य साधनामा लागेका जोशीलाई ५० हजार राशिको दीनबन्धु गोयल प्रतिभा पुरस्कार प्रदान गरिन लागेको हो ।
असार २९ गते भानु जयन्तीका दिन जोशीलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका सचिव कविराज न्यौपानेले बताए ।
२०३९ सालमा जनस्तरबाट स्थापित प्रतिष्ठानका अध्यक्ष दधिराज सुवेदीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले २०७९ सालका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गरेको छ । प्रतिष्ठानले षडानन्द प्रतिभा पुरस्कार सुनसरीका कवि मान बज्राचार्यलाई प्रदान गर्ने भएको छ । यो पुरस्कारको राशि २० हजार छ ।
यस्तै, २० हजार राशिको विराट लक्ष्मी प्रतिभा पुरस्कार झापाकी उपन्यासकार जानुका खतिवडालाई दिइने भएको छ । ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
यसैगरी धनकुटा मूल घर भएका काठमाडौं निवासी कवि तथा नाट्यकर्मी अशेष मल्ललाई ज्वालाप्रसाद प्रतिभा पुरस्कार दिइने भएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ छ ।
प्रतिष्ठानका अनुसार लीलानाथ–विश्व मञ्जरी धर्म–संस्कृति प्रतिभा पुरस्कार सुनसरीको धरानस्थित पिण्डेश्वर संस्कृत माध्यमिक विद्यालयलाई दिइने भएको छ । यो पुरस्कारको राशि पनि ५० हजार छ ।













