धनगढी- कैलालीको अत्तरियामा सल्याबाट ल्याइएको सिमला मिर्च तरकारीमा विषादी भेटिएपछि नष्ट गरिएको छ । अत्तरियामा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाई मा गरिएको परीक्षणमा १ क्युन्टेल बढी सिमलामा उपभोग गर्न नमिल्ने विषादीको मात्रा भेटिए पनि नष्ट गरिएको हो ।
कार्यालयका बाली संरक्षण अधिकृत प्रमोद ठगुन्नाले सिमलामा ६५ दशमलव ८५ प्रतिशत अर्गानोफस्फेट रोकावट प्रतिशत भेटिएकाले नष्ट गरिएको बताए । उनले तरकारीमा ४५ प्रतिशत भन्दा बढी विषादीको रोकावट दर भेटिएमा विसर्जन गरिने गरेको बताए ।
उक्त सिमला कृषि उपज थोक बजार समितिको हाताभित्र रहेको एमके एग्रीकल्चर ग्रुप प्रालिमा भेटिएको थियो । उक्त सिमला शुक्रवार बिहान मात्रै ल्याइएको पसलका सेल्स म्यान रमेश सुनारले बताए । यसअघि असार २४ गते बैतडीबाट ल्याएको ४ क्यिुन्टल सिमलामा विषादी भेटिएपछि नष्ट भेटिएको थियो ।













