धनगढी- राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले बझाङमा पुड्के ओखेडाको घर भत्काएको घटनाको भत्र्सना गर्दै त्यसमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्य अनुसन्धान गरि दोषीलाई कानून बमोजिम हदैसम्मको कारवाही माग गरेको हो । महासंघले पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनका लागि अपील समेत गरेको छ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालका केन्द्रीय अध्यक्ष ईश्वर सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यही श्रावण १० गते बझाङको वित्थडचिर गाउँपालिका–७ स्यालढुंङ्गा नजिकै रहेको पुड्के ओखेडाको निर्माणाधीन घरलाई स्थानिय कृष्ण जोशी, भवानी जोशी, किथ्थे जोशी लगायतका ४० जना भन्दा वढि व्यक्तिहरुको समूहले भत्काई, खेतीपाती नष्ट गरि जातिय विभेद हुने गरि गालीगलौज गरेको घटना प्रति घोर निन्दा र भत्र्सना गर्दछु ।’
ओखेडा दलित भएकै कारणले उनी माथि विभेद र अन्याय भएको ठहर गर्दै महासंघले यस घटनाले समग्र दलित समुदाय माथि अपमान भएको बताएका छन् ।














